करिब दुईदशकदेखि छलफल हुंदै आएपनि
निर्माण हुन नसकेको एउटा महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माण अघि
बढाउन नेपाल र भारतबीच काठमाण्डूमा औपचारिक वार्ता सुरु भएको छ।
भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज जोड्ने ४१
किलोमिटर लामो उक्त पाइपलाइन निर्माणपछि नेपालको ढुवानी खर्च जोगिनुका साथै
पेट्रोलियम पदार्थमा हुने गरेको मिसावट तथा चोरी नियन्त्रण गर्न सकिने
अधिकारीहरुले अपेक्षा गरेका छन्।
प्रतिवद्धता
द्धिपक्षीय वार्ताहरुमा सन् १९९५ देखि नै पाइपलाइन निर्माणको विषयमा छलफल हुँदै आएको थियो।
भारतीय प्रधानमन्त्रीले नेपालको संसदलाई सम्बोधन गर्ने क्रममा निर्माणकार्य तत्काल अघि बढाउने प्रतिवद्धता जनाएका थिए।
उनको पछिल्लो प्रतिवद्धतापछि निर्माण सम्झौताको
खाकालाई अन्तिम रुप दिन भारतीय आयल निगम (आइओसी) का अधिकारीहरुले
आइतबारदेखि नै काठमान्डूमा कुराकानी थालेका हुन्।
मंगलबारसम्म चल्ने उक्त वार्ताको प्रारम्भिक दिनमै
भारतीय अधिकारीहरुले नेपालका आपूर्ति सचिवलाई भेटेर आफ्नो पक्षको तयारी
सुनाउँदै काम थालेको दुई वर्षमै निर्माणकार्य पूरा गर्न सकिने बताएका थिए।
"रक्सौल
र अमलेखगञ्जबीचको दूरीमा सवारी जामका कारण भनेजतिको तेल ल्याउन सकिएको
छैन, अब त्यो समस्या हट्छ अनि ढुवानी खर्च जोगिनुका साथै मिसावट तथा चोरीको
समस्या पनि हट्छ"
मुकुन्द घिमिरे, प्रवक्ता, नेपाल आयल निगम
नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरे भन्छन्,
"टेण्डर खोल्नेदेखि लिएर सबै कुरामा उनीहरु अन्तिम अवस्थामा पुगेका छन्।
अब नेपालतर्फकै काम बाँकी छ। हामीले जग्गा उपलब्ध गराउनुपर्नेछ।"
फाइदा
दुई किलोमिटर भारतमा र बाँकी ३९ किलोमिटर नेपालतिर
पर्ने उक्त पाइपलाइन बनाउन करिब ९ अर्ब नेपाली रुपैयाँ लाग्ने अनुमान
अधिकारीहरुले गरेका छन्।
नेपाली पक्षले उक्त पाइपलाइन पूर्ण रुपमै भारतले
बनाएर हस्तान्तरण गर्न अनुरोध गरिसकेको छ जसप्रति, नेपाली अधिकारीहरुको
बुझाइमा भारत सकरात्मक पनि छ।
पेट्रोल, डिजेल, हवाइ इन्धन र मट्टितेल ल्याउन
सकिने उक्त पाइपलाइन निर्माणपछि नेपालले अनेकौ झन्झटबाट मुक्ति पाउने
अपेक्षा गरिएको छ।
निगम प्रवक्ता घिमिरे भन्छन्, "रक्सौल र
अमलेखगञ्जबीचको दूरीमा सवारी जामका कारण भनेजतिको तेल ल्याउन सकिएको छैन।
अब त्यो समस्या हट्छ अनि ढुवानी खर्च जोगुकासाथै मिसावट तथा चोरीको समस्या
पनि हट्छ।"
यस्ता फाइदा भएपनि पाइपलाइन, आइओसीको डिपोसँगै
जोडिने भएकाले उससँग मात्रै पेट्रोलियम पदार्थ किन्नुपर्ने पुरानो वाध्यता
भने नहट्ने कतिपयको बुझाइ छ।
बि.बि.सी.नेपाली सेवा बाट साभार